अमेरिकामा आजदेखि १२ देशका नागरिकलाई पूर्ण यात्रा प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आजदेखि १२ देशका नागरिकहरूमाथि अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लागू गरेको छ। जुन ४ मा जारी भएको राष्ट्रपतिको आदेशअनुसार, अन्य ७ देशका नागरिकलाई आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ।

यो प्रतिबन्ध आप्रवासन र गैर-आप्रवासन दुवै प्रकारका भिसामा लागू हुनेछ। पूर्ण प्रतिबन्ध लाग्ने देशहरूमा अफगानिस्तान, म्यानमार, इरान, लिबिया, सोमालिया, सुडान, यमन, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया र हाइटी रहेका छन्।

त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलामाथि आंशिक प्रतिबन्ध लगाइएको छ, जसअन्तर्गत केही विशेष प्रकारका भिसामा मात्र रोक लगाइनेछ।

राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्न यो कदम आवश्यक भएको बताएका छन्। उनले आतंकवादी आक्रमण गर्न सक्ने, राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन सक्ने वा आप्रवासन कानूनको दुरुपयोग गर्न सक्ने विदेशीबाट अमेरिकालाई सुरक्षित राख्नुपर्ने तर्क दिएका छन्।

यो प्रतिबन्ध ट्रम्पले सन् २०१७ मा सुरु गरेको विवादास्पद ‘ट्राभल ब्यान’ को विस्तारित रूप हो, जसलाई सुरुमा केही मुस्लिम-बहुल देशहरूलाई लक्षित गरिएको थियो।

प्रकाशित : 9 June, 2025

प्रतिक्रिया दिनुहोस्