इरानमाथि इजरायलको हवाई आक्रमण, रिभोल्युसनरी गार्ड प्रमुखसहित उच्च अधिकारीहरू मारिए

काठमाडौं । जेठ ३०, इजरायलले शुक्रबार बिहान सबेरै इरानमाथि गरेको हवाई आक्रमणमा इरानी रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का प्रमुख हुसेन सालामीसहित उच्चपदस्थ सैन्य अधिकारी र आणविक वैज्ञानिकहरूको मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
‘अपरेशन राइजिङ लायन’ नाम दिइएको उक्त सैन्य कारबाही अन्तर्गत इजरायलले इरानको राजधानी तेहरानसहितका प्रमुख शहरहरूलाई लक्षित गरी आक्रमण गरेको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस कदमलाई “निर्णायक क्षण” को रूपमा चित्रित गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, तेहरानस्थित रिभोल्युसनरी गार्ड कोरको मुख्यालयमा केन्द्रित आक्रमणमा सालामीसँगै अन्य वरिष्ठ सैन्य कमाण्डरहरू पनि मारिएका छन्। साथै, आणविक कार्यक्रमसँग सम्बद्ध वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासीको मृत्यु भएको समेत बताइएको छ।
इरानी अधिकारीहरूले इजरायलले नटान्ज आणविक केन्द्रलाई समेत लक्षित गरेको आरोप लगाएका छन्। आक्रमणपछि तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
यसैबीच, इजरायलले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र सर्वोच्च नेता आयातोला खामेनीलाई समेत निशाना बनाएको आशंका गरिएको भए पनि, यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।