त्रिदेशीय टी-२० : नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । असार २, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आफ्नो पहिलो खेल खेल्दैछ। यो खेल नेपालका लागि ऐतिहासिक हुनेछ, किनकि यो नेपालको १००औं टी-२० अन्तर्राष्ट्रिय खेल हो।
ग्लासग्लोको तितवूड मैदानमा हुने खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
नेपाल हालै सम्पन्न आईसीसी टी-२० विश्वकपमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ। विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। त्यसअघि कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा पनि नेदरल्याण्ड्सले नै बाजी मारेको थियो।
दुई टोलीबीचको हालसम्मको तथ्यांक हेर्दा नेदरल्याण्ड्स हाबी देखिन्छ। कूल १३ खेलमा नेदरल्याण्ड्सले ७ तथा नेपालले ५ खेल जितेको छ भने एक खेल नतिजाविहीन रह्यो। शृंखलाको पहिलो खेलमा आयोजक स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरिसकेको छ, जसकारण नेदरल्याण्ड्स आज पहिलो जितको खोजीमा हुनेछ।
खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजन र एडिआर स्पोर्ट्सको युट्युब च्यानलबाट हेर्न सकिनेछ।