नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

सहयात्रा टिभी

काठमाडौं । असार ३, स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्ससँग अविश्वसनीय र नाटकीय हार बेहोरेको छ। इतिहासमै दुर्लभ मानिने तेस्रो सुपर ओभरसम्म पुगेको खेलमा नेपाल पराजित हुन पुग्यो।

खेलको रोमाञ्चक बराबरीपछि पहिलो र दोस्रो सुपर ओभर पनि ‘टाइ’ भए। तर, निर्णायक तेस्रो सुपर ओभरमा नेपालले कुनै रन जोड्न नसकेपछि जित नेदरल्याण्ड्सको पोल्टामा गयो। पहिलो सुपर ओभरमा दुवै टोलीले १९-१९ तथा दोस्रोमा १७-१७ रन बनाएका थिए। तेस्रो सुपर ओभरमा नेपालका कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए भने डेब्यु गरिरहेका रुपेश कुमार सिंहले बाँकी बलमा रन जोड्न सकेनन्।

त्यसअघि, नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा धकेलिएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ३४ बलमा २ छक्का र ३ चौकासहित ४८ रन बनाए। ओपनर कुशल भुर्तेलले ३४ रनको योगदान दिँदा डेब्यु गरेका रुपेश सिंहले १९ र किरण ठगुन्नाले १५ रन जोडे। नेदरल्याण्ड्सका लागि किफायती बलिङ गरेका डेनियल डोरमले मात्र १४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।

स्कटल्यान्डको टिटउड रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। उसका लागि तेजा निदामनुरुले सर्वाधिक ३५, विक्रमजित सिंहले ३० तथा सकिब जुल्फिकरले २५ रनको योगदान दिए।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ तथा कुशल भुर्तेल र ललित राजवंशीले एक-एक विकेट हात पारे। यसै खेलमार्फत अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्डसँग पराजित भएको थियो।

प्रकाशित : 17 June, 2025

प्रतिक्रिया दिनुहोस्