शिक्षक आन्दोलनले एसईईको नतिजा प्रकाशनमा ढिलाइ, असार तेस्रो साता सार्वजनिक हुने

सहयात्रा टिभी

काठमाडौं । असार ३, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएकाले नतिजा प्रकाशन पछि सरेको हो।

नियमित तालिका अनुसार नतिजा असारको पहिलो साता नै आउनुपर्ने थियो । तर, गत चैतमा शिक्षकहरूले गरेको २९ दिने आन्दोलनले गर्दा उत्तरपुस्तिका परीक्षणको कार्यतालिका प्रभावित भएको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “शिक्षक आन्दोलन र आउजाउमा लागेको समयका कारण परीक्षण ढिलो सुरु भयो, जसले गर्दा नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन।”

बोर्डका अनुसार, हाल उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। “नतिजामा कुनै त्रुटि नहोस् भनेर हामीले कर्मचारीहरूलाई बिहानदेखि बेलुकासम्म खटाएर तथ्याङ्क प्रविष्टि (इन्ट्री) र रुजुको काम गरिरहेका छौँ,” नियन्त्रक भट्टराईले भने।

गत चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित : 17 June, 2025

प्रतिक्रिया दिनुहोस्