आज पनि  बैठक स्थगित रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग

सहयात्रा टिभी

काठमाडौं । असार ३, प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् ।

बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् ।

०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।

‘यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भनेका छन् ।

उनले यस्ता ड्रेसलाई संसद्को मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै सभामुख घिमिरेलाई प्रश्न गरे ।

‘यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ उनले भनेका छन्, ‘यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

प्रकाशित : 17 June, 2025

प्रतिक्रिया दिनुहोस्