आफूहरूको माग सुनिदिन सत्तारुढ दलहरूसँग रास्वपाको आग्रह

सहयात्रा टिभी

काठमाडौं । असार ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको माग सुनिदिन सत्तारुढ दलहरूसँग आग्रह गरेको छ ।

पार्टी प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको संगठित अपराधमा संलग्नहरूको छानबिनका लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताए ।

मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विगत १८ वर्षदेखि ठगिँदै आएका र अब ठगिने वातावरण नहोस् भनेर आफूहरू आन्दोलनमा रहेको बताए ।

‘यो विधेयकहरूको महत्त्व हामी बुझ्छौँ । त्यसमा राजनीतिक महत्व छ तर अहिले हामी जसरी उहाँहरूले ल्याउँदै गरेको विधेयकमा राजनीतिक समर्थन गर्न तत्पर छौँ,’ सांसद झाले भने, ‘त्यसरी नै उहाँहरूले हामीहरूले प्रस्तुत गरेको भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराध र सबै संलग्नताहरूको बारेमा आवश्यक छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति हामीले भनेका छौँ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसद्मा अवरोध जनाउँदै आएको छ ।

उक्त प्रकरणमा थप प्रतिक्रिया दिँदै सांसद झाले भने, ‘त्यसको मागलाई पनि तपाईँहरूले सुनिदिनुपर्‍यो । यो हाम्रो मात्रै होइन, जनता १८ वर्षदेखि ठगी रहेको र अब ठगिनु नपरोस् भन्ने माग हो । त्यसलाई पनि सुनिदिन हाम्रो अनुरोध छ ।’

 

प्रकाशित : 17 June, 2025

प्रतिक्रिया दिनुहोस्