अमेरिकाले विदेशी विद्यार्थीहरूलाई भिसाको अपोइन्टमेन्ट फेरि शुरू गर्ने

काठमाडौं । असार ५, अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसाको ‘अपोइन्टमेन्ट’ कार्य फेरि शुरू गर्ने बताएको छ ।
विद्यार्थी भिसा फेरि शुरू गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको बीबीसीले जनाएको छ ।
भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाताहरू पनि जाँच गरिने मन्त्रालयले भनेको छ । यसका लागि सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइल ‘अनलक’ गर्नुपर्ने खबरमा उल्लेख छ ।
विशेषगरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू प्रयोग गर्ने मन्त्रालयको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै नै यी भिसा आवेदनहरूको तालिका फेरि शुरू गर्नेछन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि ‘अपोइन्टमेन्ट’ रोक्न आदेश दिनुभएको थियो । ट्रम्प प्रशासनले आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको गहन अनुसन्धान गर्ने योजनामा काम गरिरहेको बताएको थियो ।