टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । असार ६, स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीको सामना गर्ने छ । स्कटल्याण्डको ग्लासगोमा खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । दुवै टोली खेल जितेर सिरिज आफ्नो नाममा गर्ने लक्ष्यमा रहेका छन् ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।
नेपालको भन्दा स्कटल्याण्डको रन रेट राम्रो रहेको छ । स्कटल्याण्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण स्कटल्याण्ड च्याम्पियन हुनेछ ।
पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमवार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहीवार अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो ।