एसईई नतिजाको प्रतीक्षा अन्त्य नजिक, आजको बोर्ड बैठकले मिति तोक्ने

काठमाडौं । असार १३, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनबारे अन्तिम निर्णय गर्न आज बोर्डको बैठक बोलाइएको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम लगभग सकिएको तर प्रकाशनको घोषणा बोर्डको निर्णयपछि मात्र हुने बताए। सदस्य सचिव जंगबहादुर अर्यालले पनि बैठक आज बस्ने पुष्टि गरेका छन्।
यो वर्षको एसईई परीक्षामा नियमित र ग्रेडवृद्धि गरी करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए। आजको बैठकले नतिजा सार्वजनिक गर्ने मिति र समय टुङ्गो लगाउने सम्भावना छ, जसले लाखौँ विद्यार्थी र अभिभावकको प्रतीक्षा अन्त्य गर्नेछ।