‘परपीडक प्रवृत्ति’ विरुद्ध एलिना-समीक्षाको अभियानमा प्रधानमन्त्रीको साथ
सहयात्रा टिभी
काठमाडौं । असार १४, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूलाई गालीगलौज गर्नेहरूलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको कदमलाई समर्थन जनाएका छन् । उनले यस कार्यलाई समाजमा व्याप्त नकारात्मक प्रवृत्तिका विरुद्ध एक सशक्त प्रतिवादको संज्ञा दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा मौलाएको ‘परपीडक प्रवृत्ति’ अर्थात् आफूलाई सही देखाउन अरूको निरन्तर आलोचना र विरोध गर्ने बानीप्रति प्रधानमन्त्री ओलीले गहिरो चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार, यस्तो प्रवृत्तिले समाजमा असहिष्णुता बढाएको छ र रचनात्मक बहसको स्थान व्यक्तिगत आक्रमणले लिएको छ। विशेषगरी, सार्वजनिक व्यक्तित्व वा कुनै राम्रो कामको थालनी गर्ने व्यक्तिहरूलाई लक्षित गरी गरिने यस्ता गालीगलौजले उनीहरूलाई निरुत्साहित बनाउने गरेको उनको भनाइ छ।
यसै सन्दर्भमा, प्रधानमन्त्रीले समाजलाई यस्ता नकारात्मकताबाट बचाउँदै विवेकपूर्ण र सकारात्मक दिशातर्फ डोऱ्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनले राम्रो गर्न खोज्ने व्यक्तिहरूले आलोचनाबाट विचलित नभई हिम्मतका साथ अघि बढ्न पनि आग्रह गरेका छन् ।


