नेपाली क्रिकेटमा कीर्तिमान : यू-१६ टोलीले बनायो ४२० रनको विशाल योगफल

काठमाडौं । असार १५, मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले कीर्तिमान बनाएको छ। ओपनर प्रसिद्ध जैसीको शानदार शतकको मद्दतमा नेपालले इन्डोनेसियाविरुद्ध आफ्नो तेस्रो खेलमा ४२० रनको विशाल योगफल खडा गरेको हो। यो स्कोर नेपाली क्रिकेटको उमेर समूहदेखि सिनियर टोलीसम्मकै ५० ओभरको खेलमा हालसम्मकै सर्वाधिक हो।
क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनायो। योसँगै नेपालले इन्डोनेसियालाई जितका लागि ४२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
नेपालको कीर्तिमानी स्कोरमा ओपनर प्रसिद्ध जैसीले उत्कृष्ट प्रदर्शन गरे। उनले ११४ बलमा १५ चौका र १ छक्कासहित १३२ रनको अविस्मरणीय शतकीय पारी खेले। अर्का ओपनर परिमार्जन यादवले मात्र २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रनको विस्फोटक ब्याटिङ गरे। त्यसैगरी, रौनक श्रीवास्तवले ८८ रन तथा जोय थापाले ५७ रनको महत्त्वपूर्ण योगदान दिए।
नेपालको विशाल योगफल बलियो साझेदारीमा आधारित थियो। पहिलो विकेटका लागि जैसी र यादवले १३० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। त्यसपछि तेस्रो विकेटका लागि जैसी र रौनक श्रीवास्तवले १४८ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे।
इन्डोनेसियाका लागि केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले समान १-१ विकेट हात पारे।
जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ। यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। समूह ‘ए’ मा रहेको नेपालले अब आफ्नो अन्तिम लिग खेल भुटानसँग खेल्नेछ। २ खेलमा ४ अंकसहित नेपाल समूहको दोस्रो स्थानमा छ।