इरानले केही महिनाभित्रै परमाणु बम बनाउन सक्छ: राफायल ग्रोसी

काठमाडौं । असार १५, इरानले केही महिनाभित्रै यूरेनियम प्रशोधन सुरु गर्न सक्ने संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्था (आइएइए) का प्रमुख राफायल ग्रोसीले इरानले परमाणु बमका लागि केही महिनाभित्रै यूरेनियम प्रशोधन गर्ने क्षमता राख्ने बताएका हुन् ।
साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु केन्द्रहरु पूरै नष्ट भएको दाबीको समेत खण्डन गरेका बीबीसीले जनाएको छ ।
‘अमेरिकीले गत साता इरानका तीन परमाणु केन्द्रहरुमा आक्रमण गरेपनि पूर्णरुपमा नष्ट भएको छैन’, उनले भने ।
‘प्रष्टसँग भन्नुपर्दा यस्तो भन्न सकिँदैन कि सबै कुरा हरायो र त्यहाँ केही बाँकी छैन’, आइएइएका प्रमुख ग्रोसीले भनेका छन् ।
इजरायले गत १३ जुनमा इरानपरमाणु हतियार बनाउन नजिक पुगेको आरोप लगाउँदै तेहरानसहितका विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो ।
त्यसपछि अमेरिका पनि युद्धमा सामेल हुँदै इरानको फोर्दो, नतान्ज र इस्फहानमा रहेका तीन वटा आणविक केन्द्रहरुमा झन्डै १४ हजार किलोग्रामका बम खसालेको थियो ।
अमेरिकाले बम खसालेर इरानका परमाणु केन्द्र ध्वस्त भएको र आणविक हतियार बनाउने सवालमा इरान निकै पछाडि धकेलिएको बताउँदै आएको थियो । यद्यपी, के कति क्षति भयो भन्ने हालसम्म यकिन तथ्य बाहिर आएको छैन ।
शनिबार बीबीसीको साझेदार समेत रहेको अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजसँग कुरा गर्दै आइएइएका प्रमुख ग्रोसीले भनेका छन्, ‘तेहरानले केही महिनाभित्रै केही सेन्ट्रिफ्जुजहरु (यूरेनियम छुट्याउन प्रयोग गरिने मेसिन) यूरेनियम प्रशोधन गर्न सक्छ ।’
इरानसँग अझै पनि आद्योगिक र प्राविधिक क्षमता भएकाले उसले चाहेमा यूरेनियम प्रशोधन कार्य अघि बढाउन सक्ने उनको भनाइ छ ।
त्यसो त राष्ट्रसंघीय आणविक निगरानी केन्द्रले मात्र इरानको परमाणु हतियार बनाउन सक्ने क्षमताबारे यस्तो बताएको हैन । यसअघि पेन्टागनबाट चुहिएको एक रिपोर्टअनुसार अमेरिकी र इजरायली आक्रमणले इरानको आणविक कार्यक्रम केही महिनामात्र पछाडि धकेलिएको उल्लेख गरेको थियो ।
भविष्यमा प्राप्त हुने गुप्तचरीय जानकारीले इरानको परमाणु क्षमताबारे यकिन क्षति र थप खुलासा गर्ने विश्लेषकहरुको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कडा प्रतिक्रिया दिँदै इरानका आणविक साइटहरू पूर्णरुपमा ध्वस्त भएको दाबी गर्दै आएका थिए । साथै उनले इरानका परमाणु केन्द्रहरुमा ठूलो क्षति पुगेको छैन भनेर केही मिडियाले गलत खबर प्रकाशन गरेको आरोप समेत लगाएका थिए ।
यद्यपी १२ दिनसम्म चलेको इजरायल–इरानबीच हाल युद्धविराम भएको छ । राष्ट्रपति ट्रम्पले इरान यूरेनियम प्रशोधन गरेर परमाणु हतियार बनाउन सक्षम भएको खुफिया जानकारी प्राप्त भएको अवस्थामा इरानमा पुनस् आक्रमण गर्ने चेतावनी दिएका छन् ।