निजामती विधेयक : कर्मचारीलाई सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्न प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं । असार १६, प्रतिनिधि सभाले आइतबार पारित गरेको संघीय निजामती सेवा विधेयकले निजामती कर्मचारीहरूलाई सामाजिक सञ्जालमा राजनीतिक दल, तिनका नेता वा सार्वजनिक पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्नबाट रोक लगाएको छ।

विधेयकको दफा ८९ मा गरिएको व्यवस्था अनुसार, कर्मचारीहरूले विद्युतीय माध्यम वा सामाजिक सञ्जाल प्रयोग गरी सामाजिक द्वेष फैलाउने, हिंसा भड्काउने वा कुनै पनि राजनीतिक पक्षधरता झल्किने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन्। पछिल्लो समय उच्च पदस्थ कर्मचारीहरूले समेत राजनीतिक व्यक्ति र आफ्नै सहकर्मीबारे गर्ने सार्वजनिक टीकाटिप्पणीलाई निरुत्साहित गर्न यो व्यवस्था ल्याइएको हो।

यसका साथै, नयाँ ऐनले निजामती कर्मचारीको आचरणलाई थप अनुशासित बनाउन अन्य कडा प्रावधानहरू पनि समेटेको छ। जसअनुसार कर्मचारीहरूले कसैलाई यातना दिने, यौनजन्य दुर्व्यवहार गर्ने, तथा आफ्नो पदीय दायित्वविपरीत प्रदर्शन, हड्ताल, कलम बन्द वा तालाबन्दी जस्ता गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरिएको छ।

प्रकाशित : 30 June, 2025

प्रतिक्रिया दिनुहोस्