पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यातायात पूर्ण रूपमा ठप्प

काठमाडौं । असार १६, आइतबार साँझदेखिको अविरल वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकखण्ड अवरुद्ध भएको छ। कालिकोटको गगने खोला र दैलेखको जिते खण्डमा पहिरो खस्दा सोमबार बिहानैदेखि राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार, निरन्तरको वर्षाले पहिरो निम्त्याएको हो। पहिरो निरन्तर झरिरहेकाले तत्काल बाटो खुलाउन कठिनाइ भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
अहिले जेसीभी प्रयोग गरी पहिरो पन्छाउने प्रयास जारी छ भने थप सहयोगका लागि सडक डिभिजन कार्यालय, जुम्लाबाट मेसिन मगाइएको छ।
राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट कालिकोट, जुम्ला, मुगु, हुम्ला र बाजुराका लागि छुटेका तथा ती जिल्लाबाट बाहिरिने सयौं मालवाहक र यात्रुवाहक सवारी साधनहरू बाटोमै रोकिएका छन्।