बारामा दुई ट्रक ठोक्किँदा चालक ३ घण्टा च्यापिए, झ्याल काटेर उद्धार

काठमाडौं । असार १६, बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित चुरियामाईको जंगलमा आइतबार साँझ दुई ट्रक एकआपसमा ठोक्किँदा एक चालक गम्भीर घाइते भएका छन्। दुर्घटनापछि स्टेरिङमा च्यापिएका चालकलाई करिब ३ घण्टाको अथक प्रयासपछि ट्रकको झ्याल काटेर सकुशल उद्धार गरिएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशाबाट आएको ना ६ ख ३७६३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि दुवै ट्रक सडकको बायाँतर्फ पल्टिएका थिए।
दुर्घटनामा ना ६ ख ३७६३ का चालक, चितवन भरतपुर-१६ निवासी अन्दाजी ३५ वर्षीय अरुण श्रेष्ठ गम्भीर घाइते भई स्टेरिङमा च्यापिएका थिए। खबर पाएलगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण, मकवानपुरबाट खटिएको टोलीले उनको उद्धार गरेको हो।
उद्धार गरिएका श्रेष्ठलाई उपचारका लागि हेटौँडास्थित जिल्ला अस्पताल पठाइएको छ। अर्को ट्रकका चालक भने सकुशल रहेको र दुवै ट्रकमा चालकबाहेक अन्य कोही पनि सवार नरहेको डीएसपी थापाले जानकारी दिए ।