पाकिस्तान टेस्ट टिमको मुख्य प्रशिक्षकमा अजहर महमूद नियुक्त

सहयात्रा टिभी

काठमाडौं । असार १६, पाकिस्तानको पुरुष टेस्ट क्रिकेट टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा अजहर महमूद नियुक्त भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पूर्वअलराउन्डर अजहरलाई टेस्ट टिमको नयाँ कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

अजहरले यसअघि पाकिस्तानको पुरुष टोलीको बलिङ प्रशिक्षक र सहायक मुख्य प्रशिक्षकका रूपमा लामो समय बिताएका थिए । खेलाडी र प्रशिक्षकका रूपमा पहिलेको अनुभवका कारण अजहरले यो भूमिका राम्रोसँग निर्वाह गर्न सक्ने पीसीबीको विश्वास छ ।

गएको वर्षको अन्त्यतिर अस्ट्रेलियाका जेसन गिलेस्पीले राजीनामा दिएपछि पूर्व तीव्र गतिका बलर तथा सन् १९९२ को आईसीसी पुरुष क्रिकेट विश्वकप विजेता आकिब जावेदले टेस्ट टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका थिए । अजहरले अहिलेको सम्झौताको अन्त्य नभएसम्म मुख्य प्रशिक्षकका रूपमा काम गर्ने पीसीबीले जनाएको छ ।

५० वर्षीय पूर्वअलराउन्डर अजहर महमूदले सन् १९९७ देखि २० वर्षको अवधिमा १ सय ४३ एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टेस्ट क्रिकेटमा देशको प्रतिनिधित्व गरेका थिए । उनले १ सय ६२ विकेट लिनुका साथै ३ शतक पनि बनाएका छन् ।

 

प्रकाशित : 30 June, 2025

प्रतिक्रिया दिनुहोस्