राष्ट्रिय सभाको बैठक बस्दै, बजेटमाथिको प्रश्नमा मन्त्रीले जवाफ दिने

सहयात्रा टिभी

काठमाडौं । असार १७, संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। अपराह्न १२:१५ बजे बस्ने आजको बैठकमा विनियोजन विधेयक, २०८२ माथिको छलफललाई निरन्तरता दिइनेछ।

बैठकको कार्यसूची अनुसार, सातवटा मन्त्रालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं राष्ट्रिय योजना आयोगको सचिवालयका लागि छुट्याइएको बजेट शीर्षकमाथि छलफल हुनेछ। यसका साथै, यसअघिको छलफलमा उठेका प्रश्नहरूको जवाफ ११ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ।

आजै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई सभासमक्ष प्रस्तुत गर्नेछन्। त्यसैगरी, प्रतिनिधिसभाबाटै सन्देशसहित आएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गर्ने कार्यसूची पनि रहेको छ।

संसद सचिवालयका अनुसार, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराउने विषय पनि सम्भावित कार्यसूचीमा समावेश छ।

प्रकाशित : 1 July, 2025

प्रतिक्रिया दिनुहोस्