भारतको रसायन कारखानामा विस्फोट : २७ को मृत्यु, २४ जना बेपत्ता

काठमाडौं । असार १७, भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लाको एक रसायन कारखानामा रियाक्टर विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको सिगाची रसायन कारखानामा भएको उक्त विस्फोटपछि ठूलो आगलागी भएको थियो।
जिल्ला प्रशासनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार, दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको छ भने बाँकी २३ जनाको पहिचान गर्ने प्रयास भइरहेको छ।
दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रशासनका अनुसार, घटनापछि २४ जना अझै बेपत्ता रहेका छन् र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। यसैबीच, ५७ जनालाई भने सकुशल फेला पारिएको अधिकारीहरूले बताएका छन्।