भूटानलाई २ सय ९८ रनले हराउँदै नेपाल समूह विजेता

सहयात्रा टिभी

काठमाडौं । असार १७, एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ ।

मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २ सय ९८ रनले हरायो ।

नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भूटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो । भूटानका अन्तिम ब्याटर क्रिजमा आएनन् ।

भूटानका शेजाङ दावाले सबैभन्दा धेरै १४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनायो ।

अब सेमिफाइनलमा नेपालले मलेशियासँग र हङकङले सिङ्गापुरसँग खेल्नेछ । १६ वर्षमुनिको इस्ट जोन कपको सेमिफाइनल खेल पर्सि बिहीवार हुनेछ । यस्तै फाइनल खेल आउँदो शनिवार हुनेछ ।

 

प्रकाशित : 1 July, 2025

प्रतिक्रिया दिनुहोस्