६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । असार १८, जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार, आज देशभर मौसम सामान्यतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको समेत चेतावनी दिइएको छ।
भारी वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्ने तथा सडक एवं हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। यसका साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको पनि सम्भावना रहेको छ।