घरेलु टोलीलाई हराउँदै नेपाल यू–१६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं । असार १९, घरेलु टोली मलेशियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
क्वालालम्पुरमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेशियालाई ९ विकेटले हरायो । मलेशियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाए । मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयो । मलेशियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम् खनालले ३ विकेट लिए ।
यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् । सिङ्गापुरले हङकङले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।