इतिहास रच्ने संघारमा नेपाली महिला टोली : एसियन कपको ढोका खोल्न उज्वेकिस्तानलाई हराउनै पर्ने

काठमाडौं । असार २१, नेपाली महिला राष्ट्रिय फुटबल टोली आज इतिहास रच्ने अभियानसहित मैदानमा उत्रिँदैछ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ । यो खेल दुवै टोलीका लागि ‘अघोषित फाइनल’ सरह हो, जसको विजेताले एसियन कपमा आफ्नो स्थान पक्का गर्नेछ ।
नेपाल र उज्वेकिस्तानबीचको यो रोमाञ्चक खेल उज्वेकिस्तानको मिलि स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।
समूह चरणमा दुवै टोलीले अहिलेसम्म अपराजित यात्रा कायम राखेका छन् । नेपालले आफ्ना सुरुवाती खेलहरूमा लाओसलाई ९-० र श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको थियो । उता, घरेलु टोली उज्वेकिस्तानले पनि श्रीलंकालाई १०-० र लाओसलाई ७-० ले हराउँदै आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ । दुवै टोलीको समान ६ अंक र समान १७ गोल भएकाले यो खेल झनै प्रतिस्पर्धात्मक हुने निश्चित छ । यदि निर्धारित समयमा खेल बराबरीमा सकिएमा विजेताको टुङ्गो सिधै टाइब्रेकरबाट लाग्नेछ ।
यद्यपि, घरेलु मैदानको फाइदा र फिफा वरीयताका आधारमा उज्वेकिस्तान तुलनात्मक रूपमा बलियो मानिन्छ । विश्व वरीयतामा नेपालभन्दा ४९ स्थान माथि रहेको उज्वेकिस्तानलाई उसैको मैदानमा हराउन नेपाली चेलीहरूले आफ्नो शतप्रतिशतभन्दा माथि उठेर खेल्नुपर्नेछ ।
यो खेलको नतिजाले समूह ‘एफ’ बाट एसियन कप खेल्ने टोलीको टुङ्गो लगाउनेछ । आजको विजेता टोली अर्को वर्ष अष्ट्रेलियामा हुने प्रतिष्ठित एएफसी महिला एसियन कपका लागि छनोट हुनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिँदै घर फर्किनेछ ।