भोजपुरमा ज्वाइँले गरे सासु-ससुरा र पत्नीसहित चारको हत्या

सहयात्रा टिभी

काठमाडौं । असार २२, भोजपुरमा एक व्यक्तिले श्रीमतीसहित ससुरालीका चार जनाको धारिलो हतियार प्रयोग गरी सामूहिक हत्या गरेका छन्। भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीस्थित ससुरालीमा आफ्नी श्रीमती, सासु, ससुरा र सालोको हत्या गरेका हुन्।

तस्वीर : एआई जेनेरेटेड

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार घटना शनिबार राति भएको हो। हत्यापछि राईले आफैँले राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरी घटनाको जानकारी दिएका थिए। प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईले फोनमा भनेका थिए, “ममाथि चक्कु प्रहार भयो र मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्।”

सूचना पाउनासाथ अस्थायी प्रहरी चौकी ओख्रे र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो। प्रहरी पुग्दा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी, १६ वर्षीया श्रीमती र १० वर्षीय सालोको शव फेला परेको थियो। पीडित श्रीमती र सालो नाबालक भएकाले प्रहरीले उनीहरूको नाम गोप्य राखेको छ।

आरोपित राजेन्द्र राईलाई भने घटनास्थलबाट करिब ५ किलोमिटर टाढा रामप्रसाद राई गाउँपालिका–१, हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला पारिएको थियो। उनको पेटमा धारिलो हतियारको गहिरो चोट लागेको छ र हाल जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ।

प्रहरीसँगको प्रारम्भिक बयानमा राईले राति करिब ११ बजे सासुले आफूमाथि चक्कु प्रहार गरेपछि प्रतिकारमा सबैको हत्या गरेको बताएका छन्। प्रहरी निरीक्षक श्रेष्ठले भने, “आरोपितले हत्या गरेको स्वीकारेका छन्। उनी बिस्तारै बोल्न सक्छन् र घटनाबारे थप अनुसन्धान जारी छ।”

राईले करिब एक वर्षअघि १६ वर्षीया किशोरीसँग प्रेम विवाह गरेका थिए।

प्रकाशित : 6 July, 2025

प्रतिक्रिया दिनुहोस्