नेपालको एसियन कप यात्रामा पूर्णविराम, पेनाल्टीमा उज्वेकिस्तानसँग स्तब्ध

काठमाडौं । असार २२, नेपाली राष्ट्रिय महिला फुटबल टोलीको एएफसी महिला एसियन कप खेल्ने सपना समाप्त भएको छ। छनोट चरणको अन्तिम तथा निर्णायक खेलमा आयोजक उज्वेकिस्तानसँग सानदार पुनरागमन गरे पनि पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
उज्वेकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा ३-१ ले पछि परेको स्थिति उल्टाउँदै निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा टुङ्ग्याएको थियो। तर, खेलको निर्णयका लागि भएको टाइब्रेकरमा नेपाल ४-२ ले पराजित हुन पुग्यो। यो जितसँगै उज्वेकिस्तान एसियन कपका लागि छनोट भएको छ।
नाटकीय रह्यो खेल
खेलको सुरुवातदेखि नै दबाबमा परेको नेपालले १२ मिनेटभित्रै दुई गोल खाएको थियो, जसमा एक आत्मघाती गोलसमेत सामेल थियो। तर, २४ औं मिनेटमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै नेपाललाई खेलमा फर्काउने कोसिस गरिन्। यद्यपि, पहिलो हाफको अन्त्यतिर उज्वेकिस्तानले पेनाल्टीमार्फत तेस्रो गोल गरेपछि नेपाल ३-१ ले पछि पर्यो।
पहिलो हाफको इन्ज्युरी समयमा उज्वेकिस्तानकी एक खेलाडीले रातो कार्ड पाएपछि खेलले नयाँ मोड लियो। १० खेलाडीमा समेटिएको उज्वेकिस्तानविरुद्ध नेपालले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्यो। कप्तान ‘साम्बा’ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हाफमा दुई गोल थपिन् र खेललाई ३-३ को रोमाञ्चक बराबरीमा ल्याइन्।
टाइब्रेकरमा चुक्यो नेपाल
बराबरीपछि भएको पेनाल्टी सुटआउटमा नेपालको प्रदर्शन निराशाजनक रह्यो। नेपालका लागि गीता राना र सविता राना मगरले मात्र गोल गर्न सके। कप्तान सावित्रा भण्डारीको प्रहार पोस्टमा लागेर बाहिरियो भने गोलकिपर अञ्जना राना मगरको प्रहारलाई उज्वेक गोलकिपरले बचाइन्।
यो हारसँगै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ भने विश्वकप र ओलम्पिक छनोटको अवसर पनि गुमाएको छ।