पूर्वराजा ज्ञानेन्द्रको ७९ औँ जन्मोत्सव, निर्मल निवासमा राजावादीहरूको जमघट

सहयात्रा टिभी

काठमाडौं । असार २३, पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि ७९ औँ वर्षमा प्रवेश गरेका छन् । उनको जन्मोत्सवको अवसरमा काठमाडौँस्थित निर्मल निवासमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ राजावादी तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ ।

वि.सं. २००४ साल असार २३ मा राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीका कान्छा छोराका रूपमा जन्मेका शाहको जीवनयात्रा उतारचढावपूर्ण रह्यो । उनी आफ्नो जीवनकालमा दुई पटक नेपालको राजगद्दीमा बसे । पहिलो पटक वि.सं. २००७ मा राणा शासनविरुद्धको क्रान्तिका बेला साढे तीन वर्षको उमेरमा उनलाई राजा बनाइएको थियो । तर, राजा त्रिभुवन स्वदेश फर्किएपछि उनको त्यो कार्यकाल छोटो समयमै टुङ्गियो ।

दोस्रो पटक, वि.सं. २०५८ को दरबार हत्याकाण्डपछि उत्पन्न विषम परिस्थितिमा उनी पुनः राजा बने । तर, वि.सं. २०६१ माघ १९ मा उनले चालेको प्रत्यक्ष शासनको कदमले देशमा राजनीतिक द्वन्द्व चर्कियो, जसको परिणामस्वरूप २०६२/६३ को जनआन्दोलन भयो । सोही आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गर्‍यो ।

हाल एक सामान्य नागरिकको जीवन बिताइरहेका शाह पछिल्लो समय राजनीतिक रूपमा सक्रिय देखिन्छन् । उनका समर्थकहरूले उनको जन्मोत्सवलाई शक्ति प्रदर्शनको अवसरका रूपमा उपयोग गर्न खोजेका छन् । प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जन्मोत्सवमा सहभागी हुन आफ्ना कार्यकर्तालाई आह्वान गर्दै यसलाई एक सांकेतिक आन्दोलनको रूपमा मनाउने बताएको छ ।

प्रकाशित : 7 July, 2025

प्रतिक्रिया दिनुहोस्