भूमि विधेयक संसदको कार्यसूचीमा राखेकोप्रति कांग्रेसको तीव्र असन्तुष्टि

सहयात्रा टिभी

काठमाडौं । असार २५, सत्ता साझेदार नेपाली कांग्रेसले भूमि विधेयक संसदको कार्यसूचीमा राखेकोप्रति तीव्र असन्तुष्टि जनाएपछि कार्यसूचीबाट हटाउन दबाब बढेको छ ।

कांग्रेस नेताहरूले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको उल्लेख गर्दै पुनः समितिमा पठाउनुपर्ने माग गरेका छन् । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमि विधेयकमा थप छलफल आवश्यक रहेकाले आजको कार्यसूचीबाट हट्ने दाबी गरे ।

भूमि विधेयक जबरजस्ती पारित गर्न खोजिए मान्य नहुने कांग्रेस नेताहरूले बताएका छन् । भूमि विधेयकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारसहित कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, राजन केसी लगायत १२ जनाले संशोधन प्रस्ताव पेश गरेका छन् ।

संसद सचिवालयले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि महामन्त्री शर्माले आपत्ति जनाएका छन् ।

पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेको भन्दै उनले विमति राखेका हुन् । पूर्व सहमति खोज्नुपर्ने वा थप छलफलका लागि समितिमै विधेयकलाई पठाउन सकिने विकल्प उनले सुझाएका छन् ।

 

प्रकाशित : 9 July, 2025

प्रतिक्रिया दिनुहोस्