थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी सम्पर्कविहीन

सहयात्रा टिभी

काठमाडौं । असार २६, रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। आर्थिक वर्षको अन्त्यमा भुक्तानीको चाप बढिरहेका बेला महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीहरू सम्पर्कविहीन भएपछि गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार रोकिएको छ।

गाउँपालिकाका सूचना अधिकारी भीमसेन बुढा मगरका अनुसार, नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि भुक्तानीका लागि आवश्यक ‘ओटीपी कोड’ प्राप्त गर्न उनीहरू छिमेकी जिल्ला रुकुम पूर्व जाने भन्दै मंगलबार, असार २४ गते बिहान हिँडेका थिए। तर, बुधबार साँझसम्म पनि उनीहरू गाउँपालिकाको सम्पर्कमा नआएको र सबैको मोबाइल फोन बन्द रहेको बताइएको छ।

“हिजो बिहानै जानुभएको हो, तर अहिलेसम्म सम्पर्क हुन सकेको छैन,” सूचना अधिकारी बुढामगरले भने, “आज रातिसम्म मात्र भुक्तानीको समय छ, पालिका ठूलो समस्यामा परेको छ।”

गाउँपालिकाले उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा समेत नभेटिएको पुष्टि गरेको छ। घटनापछि गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन प्रमुख, सब-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खरिदार र सवारी चालकलाई यथाशीघ्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रकाशित : 10 July, 2025

प्रतिक्रिया दिनुहोस्