परराष्ट्रमन्त्री देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फिर्ता

सहयात्रा टिभी

काठमाडौं । असार २७, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् ।

रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएर आज स्वदेश फर्किएकी हुन् ।

उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

२८ जुनदेखि ४ जुलाईसम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई मन्त्री राणाले सम्बोधन गरेकी थिइन् ।

सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेको बताइन् ।

साथै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरे ।

साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको जानकारी पनि गराएकी थिइन् ।

प्रकाशित : 11 July, 2025

प्रतिक्रिया दिनुहोस्