बुद्ध जन्मस्थल लुम्बिनी हट्यो युनेस्कोको सम्भावित खतराको सूचीबाट

सहयात्रा टिभी

काठमाडौं । असार २७, बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट तत्कालका लागि हटेको छ ।

फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले तत्कालका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

खतराको सूचीमा पर्नबाट जोगिन संरक्षणमैत्री र सुधारका काम भइरहेकाले युनेस्कोले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा पेरिसमा सम्पन्न बैठकले लुम्बिनीलाई एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावका कारण खतराको सूचीमा पर्नबाट जोगिएको थियो ।

त्यहाँ दिइएका सुझाव र निर्देशन अनुसार सम्भावित खतराको सूचीबाट जोगाउन विज्ञ विशेषज्ञ बोलाएर लुम्बिनीमा वर्ल्ड हेरिटेज इन्टरनेसनल कन्फरेन्स समेत गरिएको थियो ।

 

प्रकाशित : 11 July, 2025

प्रतिक्रिया दिनुहोस्