कालिगण्डकी करिडोरमा फेरि पहिरो, यातायात पूर्ण रूपमा ठप्प

काठमाडौं । असार २९, गुल्मीस्थित कालिगण्डकी करिडोर सडकखण्ड आइतबार बिहानदेखि पहिरोका कारण पुनः अवरुद्ध भएको छ। कालिगण्डकी गाउँपालिकाको वडा नं. ६ बर्लवा र वडा नं. १ गरगरेमा चट्टानसहितको ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीका अनुसार, पहिरोले सडक पूरै पुरिएपछि सवारी आवागमन ठप्प भएको छ। सडक अवरुद्ध हुँदा सयौँ यात्रु तथा स्थानीय बासिन्दा अलपत्र परेका छन्।
पहिरो पन्छाएर सडक खुलाउनका लागि इलाका प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको कमान्डमा एक प्रहरी टोली घटनास्थलमा खटिएको छ। एसपी अधिकारीले स्थानीय तहसँगको समन्वयमा पहिरो हटाउने काम सुरु भइसकेको जानकारी दिए।
मनसुन सक्रिय भएसँगै यो सडकखण्डमा पहिरोका घटना बारम्बार हुने गरेका छन्। प्रहरीले यात्रुहरूलाई यात्रा गर्दा सावधानी अपनाउन र सकभर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।