भानु जयन्ती : विभिन्न कार्यक्रम आयोजना

सहयात्रा टिभी

काठमाडौं । असार २९, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती सोमबार देशैभरि तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ ।

यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले काठमाडौंमा एक विशेष समारोह आयोजना गरेको छ । कार्यक्रमअघि कमलादीस्थित प्रज्ञा भवनबाट विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्डसहितको शोभायात्रा निकालिएको थियो । भानुभक्तको तस्वीरलाई बग्गीमा सजाएर निकालिएको उक्त र्‍यालीमा विद्यार्थीहरू भानुभक्तका कृतिमा आधारित पात्रहरू जस्तै: राम, सीता, रावण, ऋषि र घाँसीको भेषभुषामा सजिएका थिए, जसले सबैको ध्यान तानेको थियो ।

प्रज्ञा भवनमा आयोजित मूल समारोहमा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, साहित्यकार डा. नवराज लम्साल लगायतको उपस्थिति थियो । सोही कार्यक्रममा वरिष्ठ साहित्य तथा संस्कृतिविद् तुलसी दिवसलाई विशेष अभिनन्दन गरिएको थियो ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका भानुभक्तको योगदानको सम्मानमा उनको गृहनगर भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । साथै, भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्यता रहेका क्षेत्रमा पनि भानु जयन्ती उल्लासपूर्वक मनाइएको छ ।

प्रकाशित : 13 July, 2025

प्रतिक्रिया दिनुहोस्