पहलगाम आक्रमणमा संलग्न टीआरएफलाई अमेरिकाले राख्यो आतंकवादी संगठनको सूचीमा

काठमाडौं । साउन २, भारतको जम्मु–कश्मीरमा एक नेपालीसहित २६ जना पर्यटकको हत्याको जिम्मेवारी लिएको ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई संयुक्त राज्य अमेरिकाले आतंकवादी संगठनको सूचीमा राखेको छ।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो। विज्ञप्तिमा टीआरएफलाई पाकिस्तानमा सक्रिय लश्कर-ए-तैयबा (एलईटी) को शाखाको रूपमा उल्लेख गरिएको छ। गत वैशाख ९ (अप्रिल २२) मा जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणको जिम्मेवारी टीआरएफले लिएको थियो, जसमा २६ जना निर्दोष पर्यटकको मृत्यु भएको थियो।
उक्त बर्बर आक्रमणमा परी रुपन्देहीका सुदीप न्यौपानेले पनि ज्यान गुमाएका थिए। अमेरिकाले यो घटनालाई सन् २००८ को मुम्बई हमलापछिको सबैभन्दा घातक नागरिक हत्याकाण्डको रूपमा चित्रण गरेको छ।
घटनालगत्तै भारतीय विदेश सचिव विक्रम मिश्रीले आक्रमणमा टीआरएफकै संलग्नता रहेको बताएका थिए। आक्रमणबाट बचेकाहरूका अनुसार आतंकवादीहरूले पर्यटकलाई घेरा हाली सोधपुछ गरेपछि गोली हानेर हत्या गरेका थिए।
यो घोषणासँगै टीआरएफ र यसका सदस्यहरूमाथि विभिन्न अमेरिकी प्रतिबन्धहरू लागू हुनेछन्।