देशभर भारी वर्षा: कास्कीमा १५१ मिलिमिटर पानी, सुनसरीको खोलामा खतराको साइरन

सहयात्रा टिभी

काठमाडौं । साउन ४, मनसुनी वायु सक्रिय भएसँगै पछिल्लो १२ घण्टामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी कास्कीको लुम्लेमा १५१ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यसैगरी, सुनसरीमा १३०, धनकुटामा १२१ र इलाममा १२१ मिलिमिटर वर्षा मापन भएको छ, जसलाई अति भारी वर्षा मानिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा आफ्नो सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले वर्षाको प्रणाली सक्रिय भएको हो। पूर्वी नेपालमा बढी वर्षा गराएको यो प्रणाली क्रमशः मध्य र पश्चिम क्षेत्रतर्फ सर्दै गएको र यसको प्रभाव भोलिसम्म रहने मौसमविद्ले बताएका छन्।

लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले पर्वतको मोदीखोला र इलामको कन्काई मैनाचुलीमा जलसतह सतर्कता तह आसपास पुगेको जनाएको छ।

विशेषगरी सुनसरीमा बाढीको जोखिम उच्च देखिएको छ। त्यहाँको सार्दुल खोलामा पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ भने बूढीखोलामा राति १:२० बजे जलसतहले खतराको तह पार गरेपछि साइरन बजाएर स्थानीयलाई सचेत गराइएको थियो। महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित : 20 July, 2025

प्रतिक्रिया दिनुहोस्