पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्कने प्रयासमा एमालेको पूर्णविराम

सहयात्रा टिभी

काठमाडौं । साउन ७, नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै उनको सक्रिय राजनीतिमा फर्कने सम्भावनामाथि पूर्णविराम लगाएको छ। पार्टीले पूर्वराष्ट्रपति जस्तो सम्मानित पदमा बसेको व्यक्ति पुनः दलगत राजनीतिमा आउनु संविधानको मर्म र भावनाविपरीत हुने ठहर गरेको छ।

सोमबार र मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीको नवौं बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा यस विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। बैठकले मध्यरातमा यो महत्त्वपूर्ण निर्णय लिएको हो।

एमालेले आफ्नो निर्णयको आधारका रूपमा संविधानका विभिन्न धाराहरूलाई प्रस्तुत गरेको छ। विज्ञप्तिमा नेपालको संविधानको भाग ६, धारा ६१ ले राष्ट्रपतिलाई राष्ट्रको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रवर्द्धक तथा संविधानको पालक र संरक्षकको गहन जिम्मेवारी दिएको स्मरण गराइएको छ। साथै, धारा २६७ बमोजिम नेपाली सेनाको परमाधिपति जस्तो भूमिकामा रहेको व्यक्ति दल विशेषको सदस्य बन्नु असम्भव हुने पार्टीको तर्क छ।

पार्टीले आठवटा कारणसहित भण्डारीको राजनीतिक पुनरागमनलाई अस्वीकार गरेको हो। “मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको पालक र संरक्षक, सेनाको परमाधिपति, साझा व्यक्तित्व र देशको अभिभावक जस्तो गौरवमय जिम्मेवारी निर्वाह गरिसकेको व्यक्तिबाट कुनै दल विशेषको कार्यकर्ता वा नेता बन्ने कुरा सम्भव हुँदैन र मिल्दैन,” एमालेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

अन्त्यमा, बैठकले पूर्वराष्ट्रपति भण्डारीप्रति उच्च सम्मान व्यक्त गर्दै उनलाई दलगत राजनीतिभन्दा माथि उठेर सम्मानित पूर्वराष्ट्रपतिकै भूमिकामा रहन आग्रह गरेको छ। यस निर्णयसँगै भण्डारीको एमालेमा फर्कने चर्चामाथि विराम लागेको छ।

प्रकाशित : 23 July, 2025

प्रतिक्रिया दिनुहोस्