प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेशको भ्रमणमा जाँदै

सहयात्रा टिभी

काठमाडौं । साउन ९, प्रधानमन्त्री केपी शर्मा ओली आज सुख्खाले प्रभावित मधेशका महोत्तरी र बारा जिल्लाको भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा उनले किसानहरूसँग भेटघाट गरी उनीहरूका समस्या सुन्नुका साथै विभिन्न विकास आयोजनाहरूको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनले आज महोत्तरीको मटिहानी नगरपालिकास्थित विग्ही नदीमा निर्मित पुल र सोही नगरपालिकामा बनेको प्रसूति गृहको उद्घाटन गर्नेछन् । त्यसैगरी, जनकपुर-कुर्था-सम्सी सडकखण्डको रातु खोला पुल र बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको पनि उद्घाटन गर्ने कार्यसूची छ। यी कार्यक्रमहरूमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य लामो समयदेखिको खडेरीले पारेको असरको स्थलगत निरीक्षण गर्नु र स्थानीय किसानका समस्या सुन्नु रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँका वस्तुस्थिति हेरौँ र स्थानीय किसानका कुरा सुनौँ भन्ने लागेको छ। आज महोत्तरी र बाराका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।”

महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित : 25 July, 2025

प्रतिक्रिया दिनुहोस्