राजनीतिक दलको व्यवहार हेरेर नम्बर दिंदै निर्वाचन आयोग

सहयात्रा टिभी

काठमाडौं । साउन १५, निर्वाचन आयोगले राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउनेछन् ।

निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ । यो कार्यविधिउपर राजनीतिक दलहरू, सरोकारवाला र विज्ञसाग सुझाव मागिएको छ ।

कार्यविधिको मस्यौदामा राजनीतिक दलको स्वमूल्याङ्कन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न मूल्याङ्कन समिति रहने भनिएको छ ।

निर्वाचन आयोगका सचिवको संयोजकत्वमा रहने समितिमा आयोगका महाशाखा प्रमुखहरु, सूचना प्रविधि शाखा प्रमुख, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख सदस्य रहन्छन् । राजनीतिक दल व्यवस्थापन शाखा प्रमुखले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

यो समितिको काम, कर्तव्य र अधिकारमा राजनीतिक दलको मूल्याङ्कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने रहेको छ । कार्यविधि बमोजिम दलले आफ्नो स्वमूल्याङ्कन गरे नगरेको सम्बन्धमा छानबिन गर्ने वा गराउने अधिकार राख्दछ ।

काम, कर्तव्य र अधिकारमा अगाडि भनिएको छ, ‘दलले प्राप्त गरेको अंकको आधारमा मूल्याङ्कन सूची तयार गर्ने ।’ अर्थात, राजनीतिक दलको स्वमूल्याङ्कन हेरेर समितिले राजनीतिक दललाई नम्बर दिनेछ ।

राजनीतिक दलले प्राप्त गरेको अंकको आधारमा मुल्यांकनको नतिजा निर्वाचन आयोगले तयार पार्नेछ ।

मूल्याङ्कनका आधार र अंकभार अन्तर्गत राजनीतिक दलले कानून बमोजिम गर्नुपर्ने कार्य, निर्वाचनमा हुने सहभागिता र प्रतिनिधित्व रहेको छ । यसरी तयार गरिएको दलको स्वमूल्याङ्कन सूचकमा अङ्कभार प्रदान गर्ने आधार र अङ्क के गर्दा कति पाउने भनेर समेत राखिएको छ ।

 

 

प्रकाशित : 31 July, 2025

प्रतिक्रिया दिनुहोस्