गाजा युद्धविराम वार्तामा हमास पूर्णरूपमा अलग

काठमाडौं । साउन १६, गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग भएको छ ।
हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नहुँदासम्म वार्तामा नआउने बताएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको चपेटामा परिरहेका छन् । सहायता वितरण केन्द्रहरूमा इजरायली गोलीबारी भइरहेका खबर आइरहेका बेला हमासको यस्तो निर्णय सार्वजनिक भएको हो ।
यता अमेरिका र इजरायलले हमासलाई खराब नियतले वार्ता गरेको आरोप लगाउँदै गएको हप्ता कतारमा चलेको वार्ताबाट आफ्ना प्रतिनिधिमण्डल फिर्ता बोलाएका थिए । यसपछि दुवै देशले गाजासम्बन्धी रणनीतिमा पुनर्विचार गरिरहेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफले हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्नुभएको छ ।
उहाँले अमेरिकी राजदूत माइक हक्काबीसँग आज गाजा भ्रमण गर्ने र त्यहाँ रहेका अमेरिका तथा इजरायल समर्थित मानवीय सहायता केन्द्रहरूको निरीक्षण गर्ने कार्यक्रम तय भएको समाचारमा जनाइएको छ ।