एलएलडीसी सम्मेलनका लागि प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

काठमाडौं । साउन १९, प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। उनी आइतबार मध्यराति फ्लाई दुबईको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेपाल हाल भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्र हो। यही साउन २० देखि २३ गते (अगस्ट ५–८) सम्म तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना हुने उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको हैसियतमा विशेष सम्बोधन गर्नेछन्। यसका साथै, उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने र सम्मेलनका क्रममा विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुख तथा संयुक्त राष्ट्रसंघ एवं अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मी सहभागी छन्।
यसैबीच, प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ। राष्ट्रपति कार्यालयका अनुसार, प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई उक्त जिम्मेवारी सुम्पेका हुन्।
प्रधानमन्त्री ओलीसहितको टोली साउन २३ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।