अर्घाखाँचीसहित चार स्थानमा धेरै भारी वर्षा

सहयात्रा टिभी

काठमाडौं । साउन १९, पछिल्लो २४ घण्टामा मनसुन सक्रिय हुँदा देशभर मध्यमदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी वर्षा अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै मापन गरिएको छ।

मौसम विज्ञानको मापदण्डअनुसार १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई ‘धेरै भारी वर्षा’ मानिन्छ। यसै क्रममा दाङमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

त्यसैगरी, ५० देखि १०० मिलिमिटरसम्म हुने ‘भारी वर्षा’ लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेका विभिन्न स्थानमा भएको छ, जहाँ करिब ९० मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। आज बिहान पनि धादिङ, बारा, रौतहट र पाल्पामा अत्यधिक वर्षा जारी रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम बदली भई अधिकांश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।

निरन्तरको वर्षाका कारण देशका विभिन्न नदीहरूको जलसतह बढेकाले विभागले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित : 4 August, 2025

प्रतिक्रिया दिनुहोस्