दुर्गा प्रसाईंको धरौटी आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

काठमाडौं । साउन २०, महान्यायाधिवक्ता कार्यालयले दुई भिन्न मुद्दामा धरौटीमा रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको छ। उच्च अदालत पाटनले प्रसाईंलाई धरौटीमा छाड्न दिएको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ता कार्यालयले यस्तो निर्णय लिएको हो।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार, उच्च अदालतको उक्त आदेश प्रचलित कानुन र न्यायका स्थापित सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालत जान लागिएको हो। ‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानुनी व्यवस्थाविपरीत रहेको हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने आधारमा हामी सर्वोच्च अदालत जान लागेका हौं।’
यस प्रयोजनका लागि महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई अदालतको आदेश र सम्बन्धित फाइलहरू अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेको छ।
प्रसाईंलाई १५ चैतको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दा र बैंकिङ कसुरको अर्को मुद्दामा उच्च अदालत पाटनले सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेशबमोजिम तोकिएको धरौटी रकम बुझाएपछि उनी सोमबार साँझ डिल्लीबजार कारागारबाट छुटेका थिए।