गाजामाथि पूर्ण कब्जा गर्ने नेतन्याहुको प्रस्ताव, ट्रम्पले दिए ग्रीन सिग्नल

सहयात्रा टिभी

काठमाडौं । साउन २१, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीलाई पूर्ण रुपमा कब्जा गर्ने प्रस्ताव आफ्नो सुरक्षा मन्त्रिपरिषदमा लैजाने भएका छन् ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार, गाजामाथि इजरायलले पूर्ण कब्जा गर्न लागेको हो । एक वरिष्ठ अधिकारीले “हामी गाजालाई पूर्ण कब्जामा लिँदैछौँ र हमासलाई परास्त गर्नेछौँ” भन्दै यो निर्णय भइसकेको सङ्केत गरेका छन् ।

तर, नेतान्याहूको यो योजनाप्रति सेना प्रमुखलगायत अन्य सैन्य अधिकारीहरूले असहमति जनाएको खबर छ । योजना अस्वीकार्य भए सेना प्रमुखले राजीनामा दिनुपर्ने एक वरिष्ठ अधिकारीको भनाइ छ ।

यो प्रस्तावले गाजामा रहेका बन्धकहरूको जीवनलाई थप जोखिममा पार्ने भन्दै उनीहरूका परिवारले गहिरो चिन्ता व्यक्त गरेका छन् । छुट्न बाँकी ५० मध्ये करिब २० जना मात्रै जीवित रहेको अनुमान गरिएको छ ।

इजरायलका निकटतम सहयोगी राष्ट्रहरूले समेत यस्तो कदमको आलोचना गर्ने अपेक्षा गरिएको छ, किनभने उनीहरू युद्ध अन्त्य गरी मानवीय सङ्कट समाधान गर्नुपर्ने पक्षमा छन् ।

यसैबीच, इजरायलकै सयौँ पूर्व सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपतिलाई पत्र लेखी युद्ध अन्त्यका लागि नेतान्याहुमाथि दबाब बढाउन आग्रह गरेका छन् । पत्र लेख्नेहरूमा गुप्तचर एजेन्सीका पूर्व प्रमुखहरू समेत सामेल छन् । सर्वेक्षणहरूका अनुसार, प्रत्येक चारमध्ये तीन इजरायली नागरिक बन्धक फिर्ता ल्याउन युद्धविराम गर्नुपर्ने पक्षमा छन् ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने नेतान्याहुको गाजा कब्जा गर्ने योजनामा अवरोध नगर्ने बताएका छन् । अहिले गाजाको ८६ प्रतिशत जमिन आफ्नो कब्जामा लिइसकेको इजरायलले जनाएको छ ।

अहिले नै समस्यामा रहेको गाजाबासीहरु लगातारको बमबारीका कारण समस्यामा छन् । इजरायली आक्रमण र भोकमरीका कारण प्रत्येक दिन दर्जनौँको ज्यान गइरहेको छ ।

प्रकाशित : 6 August, 2025

प्रतिक्रिया दिनुहोस्