एसियन कप छनोट : फराकिलो जितको दबाबमा नेपाल, आज साउदी अरबसँग भिड्दै

काठमाडौं । साउन २३, एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो तथा निर्णायक खेलमा नेपाली टोलीले आज (शुक्रबार) साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। भुटानसँगको निराशाजनक बराबरीपछि छनोटको सम्भावना क्षीण भएको अवस्थामा नेपाललाई एसियन कपको सपना जीवित राख्न आज फराकिलो जित निकाल्नुपर्ने चर्को दबाब छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।
प्रतियोगिता सुरु हुनुअघि नेपालले भुटान र साउदी अरबलाई सहजै हराउने र बलियो टोली उत्तर कोरियासँग बराबरी खेल्ने लक्ष्य राखेको थियो। तर, पहिलो खेलमै योजनाविपरीत घरेलु टोली भुटानसँग १-१ को बराबरीमा रोकिएपछि नेपालको गणित बिग्रिएको हो। खेलको ४०औं सेकेन्डमै सेनु परियारले गोल गरेर उत्कृष्ट सुरुवात दिलाए पनि नेपालले अग्रता जोगाउन सकेन र ऐतिहासिक रूपमा अंक बाँड्न बाध्य भयो।
छनोटको अर्को चरणमा पुग्न समूह विजेता बन्नुपर्ने हुन्छ, साथै उत्कृष्ट उपविजेताले पनि मौका पाउने प्रावधान छ। तर, भुटानसँग अंक बाँडेपछि नेपालको समूह विजेता बन्ने सम्भावना लगभग सकिएको छ। अब उत्कृष्ट उपविजेता बन्नका लागि पनि गोलअन्तर महत्त्वपूर्ण हुने भएकाले नेपाललाई साउदीविरुद्ध फराकिलो जित अनिवार्य छ।
साउदी अरब आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को भारी अन्तरले पराजित भएको थियो। त्यसैले, आजको खेलमा बराबरी वा हारले नेपालको एसियन कप यात्रा पहिलो चरणमै टुंगिनेछ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले भुटानसँगको बराबरीले टोलीलाई कठिन अवस्थामा पुर्याएको स्वीकार गरेका छन्। “भुटानसँग बराबरी भयो, अबका प्रतिद्वन्द्वीहरू झनै बलिया छन्। छनोट हुन गाह्रो छ, तर हामी मिहिनेत गरेर खेल्नेछौं,” उनले भने।
यही समूहको अर्को खेलमा आजै साँझ ५:४५ बजे उत्तर कोरिया र भुटानबीच प्रतिस्पर्धा हुनेछ।