उत्तराखण्ड पहिरो : बेपत्ता नेपालीको संख्या २२ पुग्यो, धादिङका चार जना थपिए

काठमाडौं । साउन २३, भारतको उत्तराखण्डमा रोजगारीका लागि गएका थप चार नेपाली बाढी र पहिरोमा परी सम्पर्कविहीन भएका छन्। योसँगै उक्त विपत्तिमा बेपत्ता हुने नेपालीको संख्या २२ पुगेको छ।
धादिङको ज्वालामुखी गाउँपालिका–२, काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएको परिवारजनले पुष्टि गरेका छन्। उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, धादिङले गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई पत्राचार गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, “परिवारबाट जानकारी पाएलगत्तै हामीले हराएका नागरिकको खोजी तथा उद्धारका लागि गृह मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाएका छौं।”
गत साउन २० गते भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो। त्यसयता त्यहाँ खोज तथा उद्धार कार्य जारी छ।
यो विपत्तिमा यसअघि जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना नेपाली सम्पर्कविहीन भएका थिए।
कुन जिल्लाका कति बेपत्ता ?
जाजरकोट: १३ जना (कुशे गाउँपालिकाका)
बर्दिया: ४ जना (मधुवन नगरपालिकाका)
धादिङ: ४ जना (ज्वालामुखी गाउँपालिकाका)
जुम्ला: १ जना (तिला गाउँपालिकाका)
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार त्यहाँ कार्यरत अन्य नेपालीले १३ जना बाढीपहिरोमा परेको जानकारी दिएका थिए। त्यसैगरी, बर्दिया र जुम्लाका स्थानीय तहले पनि आफ्ना नागरिक बेपत्ता भएको पुष्टि गर्दै उनीहरूको खोजीका लागि परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन्।
स्थानीय निकायहरूले परराष्ट्र मन्त्रालयलाई निरन्तर दबाब दिँदै आफ्ना नागरिकको अवस्था पत्ता लगाउन र उद्धार कार्यलाई तीव्र पार्न अनुरोध गरिरहेका छन्।