माधव-झलनाथबीच सार्वजनिक आरोप-प्रत्यारोप नगर्ने भद्र सहमति

काठमाडौं । साउन २७, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच चर्किएको वाकयुद्ध तत्कालका लागि रोकिएको छ। एकअर्कालाई पार्टी छाड्न समेत चुनौती दिने तहमा पुगेको विवादलाई मत्थर पार्न अन्य शीर्ष नेताहरूको पहलमा दुवै नेता सार्वजनिक रूपमा आक्षेप नलगाउन सहमत भएका हुन्।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलपछि उनीहरूबीच ‘भद्र सहमति’ जुटेको हो। विवादको सुरुवात नेता खनालले चार वर्षअघिको पार्टी विद्रोहको औचित्यमाथि प्रश्न उठाउँदै दिएको अन्तर्वार्ताबाट भएको थियो। त्यसपछि अध्यक्ष नेपालले खनाललाई सार्वजनिक रूपमै पार्टी छाडेर ‘एमालेको सेवा गर्न’ सुझाव दिएका थिए। जवाफमा खनालले पनि ‘अझै जबज भनिरहने माधव नेपालका लागि एमाले नै उपयुक्त पार्टी’ भएको कडा प्रतिक्रिया दिएका थिए।
शीर्ष नेताहरूबीचको टकरावले पार्टी पंक्तिमा नकारात्मक सन्देश गएपछि वरिष्ठ नेता बेदुराम भुसाल, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल लगायतले मध्यस्थता थालेका थिए। सोमबार भएको करिब अढाइ घण्टा लामो छलफलमा अध्यक्ष नेपालले खनाललाई आफ्ना असन्तुष्टि र प्रस्तावहरू अन्तर्वार्तामार्फत सार्वजनिक गर्नुको साटो पार्टीको औपचारिक बैठकमा राख्न आग्रह गरेका थिए।
आफ्ना प्रस्तावहरूमाथि पार्टी बैठकमा छलफल हुने भएपछि खनाल पनि सार्वजनिक अभिव्यक्ति नदिने कुरामा सहमत भएका छन्। यो सहमतिको पृष्ठभूमिमा खनालले पतञ्जली जग्गा प्रकरणमा मुछिएको भन्दै अध्यक्ष नेपालले पदबाट राजीनामा दिनुपर्ने भनी बैठकमा राखेको प्रस्ताव छ, जसमाथि नेपाल असन्तुष्ट रहँदै आएका छन्।
अब दुवै नेताले आफ्ना असहमति पार्टीको आन्तरिक बैठकमै सीमित राख्नेछन्। आगामी साउन ३० गते बस्ने पार्टीको सचिवालय बैठकमा खनालले उठाएका विषयमा छलफल हुने भएको छ। नेताहरूले सार्वजनिक आरोप-प्रत्यारोप रोकेर आफ्ना भनाइहरू पार्टीको विधान र आचारसंहिताभित्र रहेर सम्बन्धित कमिटीमै राख्ने समझदारी बनेको हो।