एमएफएन च्याम्पियन रवीन्द्रलाई सरकारले ५ लाख दिने

काठमाडौं । साउन २८, अन्तर्राष्ट्रिय व्यावसायिक फाइट प्रतियोगिता ‘म्याट्रिक्स फाइट नाइट (एमएफएन)’ को बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले नगद पुरस्कारले सम्मान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
यसैगरी, सरकारले ढाँटका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयअनुसार खेलाडी र प्रशिक्षकलाई सम्मान गरिने जानकारी दिएका हुन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले रवीन्द्रलाई शीतलनिवासमा बोलाएर सम्मान गरेका थिए । तर उक्त सम्मानमा फूलको माला र एक कप चिया बाहेक केही पनि नदिइएको भन्दै उ रवीन्द्र निकट व्यक्तिका साथै समथर्कहरुले आलोचना गरेका थिए । सम्मानका लागि बोलाइएको खेलाडीलाई एउटा कदरपत्रसमेत नदिएर अपमान गरिएको भन्दै राष्ट्रपतिको तीव्र आलोचना भएको थियो ।
ढाँटले गत शनिबार भारतमा भएको एमएफएन-१७ को प्रतिस्पर्धामा घरेलु च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै ऐतिहासिक उपाधि जितेका थिए।