कुवेतमा विषाक्त मदिरा सेवनले ९ नेपालीले ज्यान गुमाए

सहयात्रा टिभी

काठमाडौं । साउन ३०, कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् ।

अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ ।

नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । १ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

मिर्गौला फेल भएकाहरूको डायलासिस चलिरहेको, केहीमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको मन्त्रालयले जनाएको छ ।

विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो ।

उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् ।

सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भएपनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन ।

मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

 

प्रकाशित : 15 August, 2025

प्रतिक्रिया दिनुहोस्