बाढीपहिरोले देशभरका १० सडक ठप्प, १४३ मा एकतर्फी सवारी सञ्चालन

काठमाडौं । भदौ १, मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोले सडक सञ्जालमा गम्भीर असर पारेको छ । सडक विभागका अनुसार, हालसम्म १० वटा मुख्य सडक पूर्ण रूपमा बन्द भएका छन् भने अन्य १४३ स्थानमा यातायात एकतर्फी रूपमा मात्र सञ्चालनमा छ ।
सबैभन्दा बढी प्रभावित सडकखण्डमध्ये नारायणगढ–मुग्लिन सडक पनि रहेको छ, जहाँ आइतबार बिहान खसेको पहिरोले ठोरी–भरतपुर–मुग्लिङ र आँबुखैरेनी–गोरखा मार्गमा समेत आवागमन रोकिएको छ । उता, रसुवामा भोटेकोसी नदीले मितेरी पुल बगाएपछि चीनसँगको व्यापारिक नाका रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड विगत दुई सातादेखि पूर्ण रूपमा ठप्प छ, जसले गर्दा अन्तर्राष्ट्रिय आपूर्ति नै प्रभावित बनेको छ ।
बाढी र पहिरोको प्रभाव पूर्वीदेखि पश्चिम नेपालसम्म फैलिएको छ । सुनसरी–सङ्खुवासभा जोड्ने कोशी करिडोरमा वरुण नदीले डाइभर्सन बगाउँदा र ताप्लेजुङमा तमोर करिडोरको रानीपुलस्थित बेलीब्रिज बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । त्यसैगरी, सिन्धुपाल्चोकको कोदारीमा खसेको पहिरोले अरनिको राजमार्ग र पश्चिम रुकुमका विभिन्न खोलामा आएको लेदोमाटोसहितको बाढीले भेरी करिडोर पनि बन्द भएको विभागले जानकारी दिएको छ ।
अन्य अवरुद्ध सडकहरूमा रोल्पाको सहिद राजमार्ग, बागलुङको रिडी–तानसेन–कोरला सडक र दैलेखको खुलालु–जुम्ला सडक रहेका छन् । यी स्थानहरूमा पनि पहिरोका कारण सवारीसाधन चल्न सकेका छैनन् ।
सडक विभागले अवरुद्ध भएका सबै सडकहरू खुलाउन प्रयास जारी राखेको जनाएको छ । पहिरो पन्छाउन र यातायात सुचारु गर्न आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको विभागले बताएको छ ।