नेपाल शिक्षक महासंघले रास्वपा कार्यालयमा धर्ना

काठमाडौं । भदौ १७, प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना दिएको छ ।
महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ मंगलबार पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो ।
संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन गर्न दबाब दिनका लागि आफूहरू आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
सार्वजनिक शिक्षालाई उन्नत गराउनका लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरू सम्बोधन गर्नुको विकल्प नरहेको महासंघले बताएको छ ।
महासंघले २० भदौसम्म धर्ना कार्यक्रम जारी राख्ने जनाएको छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधिसभामा पठाएको छ ।