एमालेले भोलिबाट पार्टीको दोस्रो विधान अधिवेशन गर्दै

काठमाडौं । भदौ १९, सत्तारुढ दल नेकपा एमालेले भोलिबाट पार्टीको दोस्रो विधान अधिवेशन गर्दैछ । भदौ २०–२२ चल्ने यो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।
विधान अधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ । विधान अधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा तय भएको छ ।
विधान अधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गोदावरीमा भव्य रुपमा विधान अधिवेशनका लागि गेटहरू बनाइएका छन् ।
अधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने तय भएको छ ।
विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने एमालेले जनाएको छ ।
त्यस्तै उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधन सम्बन्धी प्रस्तावमा ७० वर्षे उमेरहद नरहने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।